दादुराविरुद्ध खोप अभियान सञ्चालन हुने

सरकारले दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।

आगामी मंसिर महिनाबाट संचालन हुने अभियानमा देशभरका ५ वर्षसम्मका करिब ३८ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले मंसिरदेखि माघसम्म अभियान सञ्चालन हुने जानकारी दिए।

विभागले राष्ट्रिय दादुरा खोप अभियानका लागि करिब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमा १० करोड नेपाल सरकार र २० करोड रुपैँया खोपका लागि अन्तराष्ट्रिय अलायन्स गाभीले दिने भएको छ।

कार्यक्रममा कोही पनि बालबालिका दादुरा खोप लगाउनबाट बञ्चित नहुन् भनेर गाउँगाउँबाट खोजेर बालबालिकालाई खोप दिइने बताइएको छ।

पछिल्लो समय देशका विभिन्न भागमा दादुराको महामारी फैलिरहेको छ। भने संक्रमित अधिकांश बालबालिकाले दादुराको खोप नै पाएका छैनन्। दादुराबाट बच्न बच्चा ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिनामा दोस्रो मात्रा दिनुपर्छ।