इन्डोनेसियामा भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० भन्दा बढी कर्मचारीको मृत्यु भएको र थप १ हजार ८ सय ७८ कर्मचारी बिरामी परेका बिबिसीले जनाएको छ । रिपोर्टअनुसार, तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए ।
१७ अप्रिलमा भएको निर्वाचनको पर्यवेक्षण र मतगणनामा झन्डै ७० लाख जना खटिएका थिए । अत्यधिक गर्मीका बीच दिनरात काम गर्नुपरेकोले उनीहरु बिरामी परे ।
१९ करोड ३० लाख मतदाता भएको इन्डोनेसियामा मितव्ययिताका लागि केन्द्रीय र क्षेत्रीय संसद् तथा राष्ट्रपतिका लागि एकैदिन मतदान भएको थियो । ८ लाख मतदान केन्द्रबाट झन्डै ८० प्रतिशत मतदाताले मतदान गरेका थिए ।
बिरामी पर्ने र ज्यान गुमाउनेमा अधिकांश अस्थायी कर्मचारी छन् । काममा खटिनुअघि स्थायी कर्मचारीको जस्तो उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थिएन ।
रिपोर्टअनुसार २७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण उत्पन्न समस्याबाट मृत्यु भएको हो । आयोगले प्रत्येक मृतकको परिवारलाई ३ करोड ६० लाख रुपियाँ क्षतिपूर्ति दिनेछ । यो एक कर्मचारीको एक वर्षको न्यूनतम तलब हो ।
घटनापछि सरकारको एकैचोटि निर्वाचन गर्ने निर्णय व्यावहारिक नभएको र अस्थायी कर्मचारीबाट धेरै अपेक्षा गरेको भन्दै आलोचना भएको छ । २२ मेसम्म मतगणना सकेर परिणाम घोषणा गर्ने निर्वाचन आयोगको योजना छ ।






