घरेलु तथा साना उद्योहरुलाई राज्यले हेप्यो

घरेलु तथा साना उद्योहरुलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा आइतबार पोखरामा आयोजित लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले आफूहरुले राज्यबाट खासै सुविधा नपाएको गुनासो पनि गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले देशमा भएको रोजगारीमा घरलु तथा साना उद्योगको ८५ प्रतिशत योगदान रहेको बताउँदै ती उद्योगहरुलाई बचाउनु राज्यको कर्तव्य भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले राष्ट्रिय पहिचानका सामाग्री उत्पादन गर्ने लघु तथा साना उद्योगहरुलाई राज्यले नै संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हरेक व्यवसाय सुरु गर्दा बजारको अध्ययन गर्ने परम्पराको विकास गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले साना उद्योगीहरुलाई दक्ष बनाउन तालीम केन्द्रको स्थापना गर्नुपर्ने, लघु तथा घरेलु उद्योगबाट उत्पादित सामानहरुको बिक्री र प्रदर्शनीको लागि छुट्टै बिक्री केन्द्रको स्थापना गरिनुपर्ने,सरकारी कार्यालयहरुले नेपालकै घरेलु र साना उद्योगबाट उत्पादित सामान प्रयोग गर्नुपर्ने,व्यवसायीको पहुँच हैन कि उसको कारोवार हेरेर ऋण तथा अनुदान दिइनु पर्नेलगायतका माग गरेका थिए ।