बागलुङ्ग जिल्लाको निसीखोला गाउँपालिकामा सम्पन्न दुई दिने वृहत निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार २ सय ५८ जना सेवाग्राहीले लाभ लिएका छन् ।
भुकम्पको चौथो बार्षिकीको स्मरणमा पोखरा स्थित कर्म फ्लाइट्स फाउन्डेशन नेपाल र निसीखोला गाउँपालिका बागलुङ्गको संयुक्त आयोजना तथा नेपाल इज ट्रष्ट, यु.के. र देविस्थान स्वास्थ्य चौकीको सहआयोजनामा भएको उक्त शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा करिब ३०० जना महिलाले स्त्री रोगको जाँच, ६० जनाले घाँटीको इन्डोस्कोपी सहित २५० जनाले नाक, कान, घाँटीको परिक्षण र अधिकांशले हाडजोर्नी तथा नशा रोग र सामान्य चिकित्सा सम्बन्धी जाँच तथा उपचार तथा २२० जनाको ल्याव परिक्षण गरिको स्वास्थ्य शिविर संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।
शिविरमा ६ लाख ३० हजार रुपैया मूल्य बरावरको आवश्यकिय औषधि समेत निशुल्क रुपमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक टोप बहादुर चन्दले बताए ।
शिविरमा निसीखोला गाउँपालिका दुर्गम गाउँहरुको साथै छिमेकी ढोरपाटन नगरपालिकाका सेवाग्राहीहरुको पनि उल्लेखनिय उपस्थित रहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । अध्यक्ष पौड्यालले आगामी दिनमा पनि दुरदराजका जनतालाई मध्यनजर गरी यस्तै खालका कार्यक्रमहरु गरिने प्रतिवद्धता ब्यक्त गरेका थिए ।




