भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन्। यात्रुबाहक बस सडकबाट झण्डै दुई सय मिटर तल खसेपछि भएको दुर्घटनामा परी घाइते भएका २६ मध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
शनिबार राति चम्बा जिल्लाको पन्चपुल गाउँमा दुर्घटना भएको प्रहरी अधिकारीले आइतबार जानकारी दिएका छन्। घटनास्थल हिमाञ्चल प्रदेशको राजधानी शिम्लादेखि ३२७ किलोमिटर टाढा पर्दछ।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। दुर्घटनामा परी चालक पनि घाइते भएका छन्।






