नेपालका विभिन्न जातजातिको अनुसन्धानमा जुटेका साभ नेपालका अध्यक्ष तुलसी प्रवासले कुसुण्डा बालिकाको सहयोगको अभियान सुरु गरेका छन् ।
नेपालमा एकजना मात्र वक्ता रहेको कुसुण्डा भाषालाई बचाउँदै आएका “राजामामा”को गतवर्ष निधन भयो । कुसुण्डा जाती र भाषा बचाउनकै लागी भनेर सरकारको पहलमा २५ वर्षीय इन्द्रमाया तामाङसँग ६५ वर्षका राजामामाको विवाह पनि भयो ।
उनीहरूबाट एउटी छोरी पनि जन्मिइन् । उनको नाम सीमान्त कुसुण्डा राखियो । नेपालमा वास्तविक कुसुण्डा अहिले सीमान्त मात्रै हुन् भन्दा पनि हुन्छ । दमौली नजिकैको एउटा स्कूलमा उनी चार कक्षामा पढ्छिन् । सानैबाट बिरामी भैरहने सीमान्तलाई स्कूलको शूल्क, कापी, किताब तथा औषधि उपचारको खर्च जुटाउन इन्द्रमायालाई निकै धौ धौ परिरहेको रहेछ । कुनै सहयोगी मनहरूले सहयोग गरिदिए यो लोपोन्मुख सीमान्तकृत जातिकी यी छोरीले पढ्ने, लेख्ने र स्वस्थ रहने अवसर पाउने थिइन् भन्ने कुरालाई आत्मसात गर्दै प्रवासले यो अभियान सुरु गरेका हुन् ।
सानैबाट बिरामी भैरहने सीमान्तलाई स्कूलको शूल्क, कापी, किताब तथा औषधि उपचारको खर्च जुटाउन इन्द्रमायालाई निकै धौ धौ परिरहेको रहेछ ।
तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ प्रकारका जातजातिको सामाजिक सांस्कृतिक पक्षको अनुसन्धानका सिलसिलामा उनले कुसुण्डा जातिलाई पहिलोपटक भेटेका हुन् । नेपालमै एकमात्र कुसुण्डा सन्तती रहेकी सीमान्त कुसुण्डाको शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नका लागी यो अभियान सुरु गरेको प्रवास बताउँछन् । प्रवासले सुरु गरेको “लोककल्याणकारी अनुसन्धान” अभियान अन्तर्गत यो सहयोग अभियान रहेको कुरा उनी बताउँछन् ।
यो अभियान सुरु गरेको पहिलो दिनदेखी नै सीमान्त कुसुण्डाको शिक्षा र स्वास्थ्यका लागी देश तथा विदेशबाट सहयोग आउन सुरु भैसकेको छ ।।




