नागरिकता सिफारिस नहुँदा आत्महत्या !

एक युवाले नागरिकता नपाएको कारण नै आत्महत्या गरेका छन् । वडा कार्यालयले नागरिकता सिफारिस गर्न नमानेपछि ती युवकले आत्महत्या गरेका हुन् । मृतक सुनसरीको दुहवी नगरपालिका–३ का २२ वर्षीय हरि मण्डल रहेका छन् ।

हरि मण्डल नागरिकताको सिफारिस माग्दै वडा समितिको कार्यालयमा पुगेका थिए । तर नागरिकता सिफारिसको लागि पटक पटक वडा कार्यालयमा पुग्दा पनि वडाध्यक्ष माधवबहादुर भण्डारीले कागजात नभएको भन्दै फकाईदिएका थिए । पटक पटक धाउँदा पनि नागरिकता नबनेपछि हरि मण्डलले आत्महत्या गरेको उनको आमा गीतादेवी मण्डलले बताइन् । उनले वडाअध्यक्ष भण्डारीले तिम्रो नागरिकता हुँदैन भन्दै कार्यालयमा नै बेइज्जत गरेपछि छोराले आत्महत्या गरेको आरोप लगाएकी हुन् । तीन पुस्तादेखि बुवा ध्रुव मण्डलसहित दुहवीमा बस्दै आएका मण्डल परिवारका जेठा छोरा प्रमोदले भने २०६३ सालको टोलीमै जन्मसिद्धको नागरिकता बनाएका थिए ।

दाजुको जन्मसिद्ध नागरिकता भएपछि हरिले नागरिकता खुलेको पहिलो दिन २०७५ चैत १८ मै वडा कार्यालय पुगेर वडा अध्यक्षलाई जन्मदर्ता र आफूले अध्ययन गरेको विद्यालयको सर्टिफिकेटत सहित नागरिकता सिफारिस गरिदिन आग्रह गरेका थिए। तर उनलाई कागजात नपुगेको भन्दै फिर्ता पठाईएको थियो । त्यसपछि उनी वैशाख ९ गते पुनः आमा गीतादेवीसँगै वडा कार्यालय पुगे ।

वडाध्यक्षले ‘तिम्रो सिफारिस हुँदैन’ भन्दै हप्कीदप्की गरेपछि उनी आमालाई वडा समितिको कार्यालयमै छाडेर घर गए । त्यसलगत्तै उनले घरमा पासो लगाएर आत्महत्या गरेको गीतादेवीले बताइन्। गरिबीकै कारण १३ वर्षकै उमेर चप्पल उद्योगमा काम गरिरहेका हरि मण्डलले बैंकमा खाता खोल्न नागरिकताका लागि पहल गरेका थिए । यता वडाध्यक्ष भण्डारीले भने मण्डलले नागरिकता सिफारिस नगरिदिएका कारण आत्महत्या नगरेको दाबी गरेका छन् ।