देशमा छोरी बुहारीमाथि हुने हिंसा रोकिएको छैन । दाईजो लगायतका बिषयहरुमा छोरीहरु लगातार हिंसामा पर्दै आएका छन् । हिंसामात्र होईन उनीहरु डरलाग्दो हिंसाबाट ज्यानै गुमाउन पनि बाध्य बनिरहेका छन् । हिजोमात्र आफै श्रीमान र सासुबाट मट्टीतेल खन्याएर जिँउदै आगो लगाईएकी कन्चन मण्डलको ज्यान गएको थियो ।
यसबीचमा मट्टितेल छर्केर जिउँदै जलाईएकी अर्की महिलाको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ विराटनगरपालिका १६ की २१ वर्षीया इशा राई रहेकीछिन् । उनको कीर्तिपुर अस्पतालमा उपचार भईरहेको थियो । गत बैशाख ८ गते इशामाथि मट्टितेल छर्किएर आगो लगाईएको थियो ।
स्थानीय रेम्बो लामाको घरमा गएकी इशामाथि एकाएक आगजानी गरिएको थियो । आगोको कारण उनको शरिरको भाग ७० प्रतिशत भन्दा बढी जलेको थियो । उनको उपचारको क्रममा निधन भएको हो । रेम्बोको घर परिवारले भने उनले आफैले आफनो शरिरमा आगो लगाएको बताएका छन् भने इशाकी आमा रत्न योगीले भने आफनो छोरीमाथि रेम्बोको परिवारले आगो लगाएर मारेको दाबी गरेका छन् । दुबै पक्षले आ -आफनो दाबी गरिरहेको बेला प्रहरीले भने घटनाको सुक्ष्म अध्ययन गरिरहेको छ ।




