हुम्लामा अज्ञात रोगले ८ को मृत्यु

हुम्ला सदरमुकाम सिमिकोटबाट ४५ कोस टाढा पर्ने गाउँमा अज्ञात रोगबाट ८ जनाको मृत्यु भएको छ। ताँजाकोट गाउँपालिकामा २ बालबालिकासहित ८ जनाको मृत्यु भएको हो।

अज्ञात रोगका कारण वडा नम्बर १ का ७० वर्षीया कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का, वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनारको मृत्यु भएको स्थानीय मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।

वडा नम्बर ३ की ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जिव थापाको पनि थाहा नभएको रोगका कारण मृत्यु भएको छ । सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा बिरामीको ज्यान जाने गरेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी ढोलकराज ढकालले प्रदेश सरकारसँग समन्वय गरेर स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँतर्फ पठाइसकिएको बताए । पैदल जानुपर्ने भएकाले स्वास्थ्यकर्मीको टोली आइतबारमात्र त्यहा पुग्नेछ ।