श्रीलंकामा फेरि विस्फोट, देशभर कर्फ्यू

गत आइतबार इस्टर सन्डे मनाइँरहँदा श्रीलंकाका चर्च तथा रेस्टुरेन्टहरुमा भएका शृङ्खलाबद्ध विस्फोटहरुका कारण २ सय ५० भन्दा धेरैले ज्यान गुमाए । त्यसपछि केही दिन शोकमा डुबेको श्रीलंकामा शुक्रबार साँझ फेरि विस्फोट भएको छ । 

यो विस्फोट श्रीलंकाको पूर्वी प्रान्त अम्बारईमा भएको हो । त्यहाँ तीन विस्फोट भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले लेखेका छन् । प्रहरीले एउटा भवनमा विस्फोट गराएका एक संदिग्धलाई पक्राउ पनि गरेको छ । 

बिबिसीका सिंहला सेवाका पत्रकार अज्जाम अमीनले ट्विटरमा त्यहाँ भएको विस्फोटबारे लेखेका पनि छन् । उनले उक्त क्षेत्रमा सुरक्षाकर्मीले खोजी कार्य तीव्र बनाएको पनि उल्लेख गरेका छन् । 

प्रहरीले यसअघिमात्र आइतबार भएको विस्फोटका मुख्य योजनाकर्ता मानिएका जहरान हाशिमलाई त्यही क्षेत्रको एउटा गाउँमा भेटेको थियो । प्रहरीले अहिलेसम्म सात जनालाई आइतबार विस्फोटको आरोपमा अदालतमा प्रस्तुत गरिसकेको छ । 

प्रहरीले फेरि विस्फोटका समाचार आएपछि राती १० बजेदेखि विहान ४ बजेसम्म पूरै श्रीलंकाभर कफ्र्यु लगाएको छ ।