ग्रेट नेपालका अभियान्ता फणिन्द्र नेपाललाई अदालत बुझाउने तयारी भैरहेको छ ।
बैंकिङ कसुर अभियोगमा पक्राउ परेका अभियान्ता नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा दोषी देखिएपछि उनलाई अदालत बुझाउने तयारी भएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाललाई नरेशकुमार न्यौपानेले दिएको जाहेरीको आधारमा वैशाख १० गते निवासबाटै पक्राउ गरेको थियो ।
तर ,मुद्दा अगाडि बढाउनुभन्दा पहिला बैंकबाट पैसा बुझे÷नबुझेको कागजपत्रहरु झिकाएर अनुसन्धान गरिरहेका काठमाडौ परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले अनुसन्धानका लागि नेपाललाई ७ दिनको थप म्याद थपेको छ । अनुसन्धानपछि प्रमाणका आधारमा उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
नेपालले २०७५ मंसिर २१ गते नरेशकुमार न्यौपानेलाई ६ लाख रुपैयाँको चेक दिएको र त्यो बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसैबीच नेपालले आफूलाई फसाइएको दावी गर्दै आएका छन् । पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो राष्ट्रवादी आन्दोलन कमजोर पार्न आफूलाई षड्यन्त्रमुलक ढंगले पक्राउ गरिएको दावी गरेका छन् ।






