दिउसै टर्च बालेर बेपत्ता नेताको खोजी

१७ वर्षदेखि बेपत्ता छोरो अझै आउने आशा छ मोतीमाया पौडेललाई । छोरा पूर्णको शुक्रबार भएको खोजीसभामा उनी युवा विद्यार्थीसँगै नारा लगाउँदै थिइन् ।

राज्य विरुद्ध बन्दुक उठाएको तत्कालीन नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पूर्ण पौडेल २०५९ देखि बेपत्ता छन् । उनलाई ०५९ वैशाख १३ गते बेलुका काठमाण्डौंको कालिमाटीबाट सुरक्षाकर्मी पक्रेका थिए ।

अखिल क्रान्तिकारी गण्डकी र अनेरास्ववियु गण्डकीले शुक्रबार संयुक्र रुपमा खोजसभा गरेका हुन् । सभाअघि दिउसै लाइट बालेर बेपत्ता पूर्ण पौडेलसहित सबैको अवस्था सार्वजनिक गर्न माग गरियो । मोतीमायाले सभामा सहिद, बेपत्ताकै त्यागबाट सरकारमा पुगेकाहरुले सहिद र बेपत्ताको कदर गर्न नसकेको बताइन् । उनले भनिन्, मेरो छोरो आउँछ भन्ने आश छ, नेताहरुले तुरुन्त सार्वजनिक गराउनुपर्छ ।

अखिल क्रान्तकारी गण्डकी अध्यक्ष क्षितीज सापकोटाले जुन पार्टीमा लागेर हजारौं योद्धा बेपत्ता भए, उसैको दुई तिहाइको सरकार हुँदा पनि अवस्था सार्वजनिक नहुनु दुखद भएको बताए । उनले भने, हाम्रै पार्टीको २ तिहाइको सरकार छ, प्रतीक्षा धेरै भयो, अवस्था सार्वजनिक हुनुपर्छ ।

कार्यक्रममा नेकपा नेता तेजकुमारी पौडेल र विद्यार्थी नेता अमरदीप पराजुलीले पनि बेपत्ताहरुको अवस्था चाडै सार्वजनिक गर्न माग गरे ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।