०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण क्षति पुर्याएको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–५ काउलेका १० दलित परिवारले लालपुर्जा पाएका छन् ।
एकीकृत बस्ती निर्माण गर्नका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले चौथो भूकम्प स्मृति दिवसमा पीडित दश परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो ।
भूकम्पले क्षति पुर्याएर चिरा पारेको उक्त बस्तीमा २०७५ साल असार १२ गतेको भीषण वर्षाले बस्ती नै भासिएपछि भूकम्पमा चिरा परेको स्थान छोडेर स्थानीयवासीको घरमा आश्रय लिएर बसेका थिए ।
जग्गा खरिद गर्न प्रतिपरिवार दुई लाख, पूर्वाधार निर्माणका लागि चार लाख तथा नमूना बस्ती निर्माणका लागि तीन लाख गरी प्रतिपरिवार नौ लाख खर्च लाग्ने आयोजना प्रमुख इञ्जिनीयर रामाशीष साहले बताए ।
बस्तीमुनि तथा माथिबाट लोकमार्ग निर्माण भएको र भूकम्पले जमिन चर्काएको स्थानमा बाढी पसेर बस्ती जोखिममा परेको भूर्गभ विभागको निष्कर्षपछि बस्ती निर्माणको कार्यअगाडि बढेको वडाध्यक्ष शिव कँडेलले जानकारी दिए ।






