“हाइवेमा आइस् भने मारिदिन्छु” भनी धम्की दिने ट्रक चालक प्रहरी नियन्त्रणमा

हाइवेमा आएका बेला दुर्घटना गरी मारिदिने धम्की दिने ट्रक चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पुतलीबजार ८ स्याङ्जा घर भएका मिनबहादुर दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दमाई लु १ ख ३४९४ नम्बरको ट्रकका चालक हुन् ।

शुक्रबार ९ बजेतिर पोखरा ८ नयाँबजारको दमकल मार्गमा दमाईले ग २ च ९०३४ नम्बरको कारका चालकलाई हाइवेमा आएका बेला दुर्घटना बनाइ मारिदिने धम्की दिएका थिए । सडक जाम गरी राखेको ट्रक लाई बाटो छोडेर राख्न अनुरोध गर्दा दमाईले धम्की दिएका हुन । दमकल मार्गमा रहेको मोहित ट्रेडर्समा सामान लिएर आएको ट्रकका चालक दमाईले सोही बाटोबाट भित्रि सडकमा छिर्न लागेको कारका चालकलाई हाइवेमा आएका बेला मार्ने चेतावनी दिँदै कारको नम्बरसमेत टिपेका थिए ।

धम्कीपश्चात कार चालकले प्रहरीलाई खबर गरे । तत्काल त्यहाँ पुगेको ट्राफिक प्रहरी टोलीले दमाइलाई नियन्त्रणमा लिएको हो ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।