पोथी लामखुट्टेले नै किन सार्छ औलो ?

बिगत २ बर्षदेखि स्थानीयभन्दा आयातित औलोका बिरामीको संख्या बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। आर्थिक बर्ष २०७३-७४ मा स्थानीय औलोका बिरामी ४ सय ९२ थिए भने आयातित ६ सय ३६ जना थिए।

यसैगरी २०७४-७५ को तथ्यांक अनुसार स्थानीय ५ सय ५७ बिरामी रहेकोमा आयातित ६ सय ३० जना भेटिएका छन्।

यी दुवैलाई हेर्ने हो भने स्थानीयभन्दा आयातित बिरामीको संख्या बढेको देखिन्छ। नेपालमा भेटिएका औलो रोगीमध्ये करीब ६० प्रतिशत आयातित भएको महाशाखाका निर्देशक डा बिबेक कुमार लालले जानकारी दिए।

बिशेषगरी भारतको गुजरात, उत्तर प्रदेश र बम्बईबाट आएकामा औलो बढी पाइएको डा लालको भनाइ छ।

पोथी एनोफिलिज लामखुट्टेले कसरी सार्छ औलो ? 
औलो रोग पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट मात्रै सर्ने गर्छ। एनोफिलिजको भाले लामखुट्टेले मान्छेलाई यो रोग सार्दैन। पोथीले प्रोटिनको खोजीमा मानिस वा जीवजन्तुको रगत चुस्ने गरेको डा. लाल बताउँछन्।

पोथी लामखुट्टेलाई अण्डा बनाउनका लागि प्रोटिन अवश्यक पर्छ। प्रोटिनकै लागि उसले रगत चुस्छ। त्यो बेला पोथी लामखुट्टेको अण्डाबाट मात्र उसको परजिवी मान्छेमा सर्ने हो। तर भाले लामखुट्टेलाई आबश्यक प्रोटिन भने फूलको रसबाट प्राप्त गर्छ। औलो रोगबाट सबैभन्दा बढी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका जोखिममा छन्।