ओम डेभलपमेन्ट बैंकमा खाता खोले १०० रुपैयाँसंगै निःशुल्क स्मार्ट कार्ड

पोखराको चिप्लेढुंगामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक लिमिटेडले मेरो बचत खाता सञ्चालनमा ल्याएको छ ।

खोलौं खाता अभियान अन्तर्गत बैंकले बैंक खाता नभएका ग्राहकले खोलेको खातामा बैंकको तर्फबाट १ सय रुपैंया जम्मा गरिदिनुका साथै पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवामा प्रयोग हुने स्मार्ट कार्ड समेत निःशुल्क प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले खातामा निःशुल्क चेक बुक, निःशुल्क अन्तर शाखा कारोवार, निःशुल्क बैंक स्टेटमेन्ट, निःशुल्क आश्वा सेवा तथा कर्जामा पनि सहुलीयत प्रदान गर्ने जनाएको छ ।

बैंकले केही दिन अघि पोखरा महानगरपालिका, स्थानीय बस ब्यवसायी समिति र एन क्लाउड प्रालिसंग स्मार्ट सिटी पोखरा कार्यक्रम अन्तर्गत महानगरमा चल्ने बसमा स्मार्ट कार्ड राख्ने विषयमा चारपक्षीय सम्झौता गरेको थियो ।

सम्झौता अन्तर्गत बैंकले बसहरुमा प्वाइट अफ सेल मेसिन जडान गरिदिने र ग्राहकहरुलाई निःशुल्क स्मार्ट कार्ड वितरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।