म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गाउँवासीलाई खानेपानी उपलब्ध बनाउने आयोजना अघि बढाइएको छ ।
गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा १ करोड ५ लाख लागतमा ‘एक घर एक धारा’ आयोजना अघि बढाइएको हो ।
चालू आर्थिक वर्षका लागि वडा कार्यालयले गौरवको आयोजनाको रुपमा छनोट गरेको ‘एक घर एक धारा’ अभियानमा रघुगङ्गा गाउँपालिकामार्फत रु ५५ लाख बजेट विनियोजन भएको छ भने प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भएको वडाध्यक्ष रिमबहादुर कटुवालले जानकारी दिए ।
स्थानीयस्तरमा रहेका खानेपानीका मुहान संरक्षण र स्रोतलाई एकीकृत गरी हरेक घरमा खानेपानी उपलब्ध गराइने भएको छ । उपभोक्ता समितिले आयोजनाको ट्याङ्की निर्माण र पाइपलाइन विस्तार गर्न थालेको छ ।
हरेक ट्याङ्की ३० हजार लिटर क्षमताका रहनेछन् । यस आयोजनाबाट भगवतीका ९५० घरधुरीका चार हजारभन्दा बढीमा शुद्ध खानेपानी उपलब्ध गराइने लक्ष्य छ ।




