घोडाकै भरमा यात्रा तथा ढुवानी

अधिकांश ग्रामिण स्थानमा अहिले यातायत पुगिसकेको छ तर इलामको गाउँमा सडक बिस्तार भए पनि स्थानीयले अझै पनि यात्रा तथा सामान ढुवानीमा लागि घोडाकै प्रयोग गर्ने गरेका छन् ।

खनिएका सडकमा हिउँदमा नियमित गाडी नचल्ने र बर्षामा बाटो बन्द हुने हुँदा घोडाकै भर पर्ने गरेका हुन् ।

स्थानीयबासी कृषिउपज र दैनिक उपभोग्य सामग्रीमात्रै हैन, बिरामीलाई अस्पताल पुर्‍याउनसमेत घोडाको प्रयोग गर्दै आएका छन् ।

उपभोगका सामग्री बोकाएबापत घोडाधनीले प्रतिकिलो २ रुपैयाँदेखि ५ रुपैयाँसम्म भाडा लिने गरेका छन् । गाउँका सडकमा एम्बुलेन्स नपुग्ने भएकाले घोडामा बिरामीसमेत बोक्नुपर्ने बाध्यता रहेको माईजोगमाईका स्थानीयको गुनासो छ ।

स्थानीय, प्रदेश र संघ सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी सडक क्षेत्रमा लगानी गरे पनि ती सडकमा हिउँदमा गाडी नियमित नहुने र वर्षामा गाडी चल्ने गर्दैनन् ।

सामग्री ढुवानी गर्ने घोडाको मूल्य ३५ देखि ९० हजार रुपैयाँसम्म पर्ने गरेको छ । इलाममा ७ हजारको संख्यामा घोडा रहेको तथ्यांक छ ।