जनहितमा सिन्को नभाँच्ने प्रबृत्ति प्रति नगरप्रमुख नेपालीको कटाक्ष

ढोरपाटन नगरपालिकाका नगर प्रमूख देवकुमार नेपालीले जनतालाई आश्वासन र प्रलोभन बाँड्ने तर जनहितमा सिन्को नभाँच्ने प्रबृत्ति प्रति कटाक्ष गरेका छन् ।

ढोरपाटन नगरपालिकाको वडा नम्बर २ खलबाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयको ४४ औँ वार्षिक उत्सव तथा १६ औँ अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमूख नेपालीले जनताका पक्षमा सिन्को समेत नभाँच्ने प्रवृति देखिएको बताउदै आफुले बढी बोल्ने भन्दा पनि काम गरेर देखाउने खुलासा गरे ।

आफुले निस्स्वार्थ भएर नगरपालिकामा रहेका गरिब दलित असहाय तथा वृद्धवृद्धाको पक्षमा काम गर्ने बताए । जनताबाट उठेको करलाई पारदर्शी ढंगले विकास निर्माणका कार्यमा खर्च गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली जनताको विकासको अपेक्षालाइ परिपुर्ती गर्नका लागि स्थानिय सरकार गठन भएको बताउदै उनले जनताका पक्षमा रहेर जनहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगरप्रमुख नेपालीले अर्नाकोट आधारभुत विद्यालयमा २ कोठे पक्की भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा नगरपालिकाबाट बजेट विनियोजन गर्ने जानकारी दिँदै बुर्तिबाङदेखी अर्नाकोट सम्मको मोटरबाटो आफ्नो कार्यकालभित्रै ग्राभेल गर्ने योजना रहेको र त्यसका लागी तत्काल अहिलेको मोटरबाटो १ मिटर फराकिलो बनाउन निर्देशन समेत दिए ।

नगरप्रमूख नेपालीले आफु अमेरीका भ्रमण गएको समयमा आफुलाई त्यहाँ बस्ने एक नेपालीले दिएको २ सय अमेरीकी डलर विद्यालयलाइ हस्तान्तरण गरेका थिए ।

आफुलाइ बागलुङ नगरपालिका बलेवा घर भइ हाल न्युयोर्क बस्दै आएका गंगा बहादुर जिसीले दिएको र उक्त रकम विद्यालयलाइ हस्तान्तरण गर्ने वाचा अनुसार उनकै नाममा सो रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।