पोखरामा लायन्सको माहोल उत्कर्षमा

पोखरा यतिबेला लायन्समय बनेको छ । पोखराका लायन्सका साथै पोखरेली पनि लायन्सको यो माहौलले उत्साहित बनेका छन् । २ वर्षपछि गभर्नर बन्ने शौभाग्य यस वर्ष पोखराले पाएकाले पनि पोखरामा लायन्सको रौनक उत्कर्षमा पुगेको हो ।

यो महाधिवेशनबाट निर्वाचित हुने सेकेण्ड भाइस डिष्ट्रक्ट गभर्नर २ वर्षपछि ‘एस’ मतका आधारमा स्वतः गभर्नर बन्ने लायन्स नियमावली छ । यो पदमा पोखराकै २ नेताले उम्मेदवारी दिएपछि चासो र चर्चा उत्कर्षमा छ । विशेश्वर आचार्य र ध्रुव श्रेष्ठ यो पदका प्रतिस्पर्धी हुन् । उनीहरू दुवै लायन्समा खारिएका व्यक्तित्व हुन् ।

सेकेण्ड भाइस डिष्ट्रक्ट गभर्नरमा २ जनाको उम्मेदवारी परेपछि सर्वसम्मत उम्मेदवार बनाउन अगुवा नेताहरूले कमिटी नै बनाएर पटक–पटक प्रयास गरे । तर सर्वसम्मत दुवै पक्ष सहमत नभएपछि लोकतन्त्रको सुन्दर पक्ष ‘निर्वाचन’ हुने निश्चित छ । यही निर्वाचनबाट २ वर्षको गभर्नर चुनिनेछन् । महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस गभर्नर पदमा मन रोकाको उम्मेदवारी छ । उनीहरू दुवैले ‘एस’ मत लिनुपर्नेछ ।

चुनावमा २ नेताबीच प्रतिस्पर्धा हुने भएपछि पोखरा लगायत डिष्ट्रिक्टका अन्य जिल्लाका लायन्सहरू पनि विभाजित भएका छन् । डिष्ट्रिक्टमा रहेका करिब ११ हजार लायन्स सदस्य दुवै पक्षमा खुलेर लागेका छन् । साथै डिष्ट्रिक्टका १२ जना पूर्व गभर्नर पनि दुवै पक्षमा विभाजित भएका छन् ।

विशेश्वर आचार्य पक्षकाले योग्य उम्मेदवारको पक्षमा तथा ध्रुव श्रेष्ठ पक्षकाले न्यायको पक्षमा उभिएको बताएका छन् । लायन्समा चुनाव, लायन्स सदस्यको मतसंगै मन पनि विभाजन हुँदा समस्या आउने चिन्ता लायन्सका अगुवा नेताहरूमा छ । उनीहरूले लायन्स जस्तो पवित्र सामाजिक संस्थामा चुनाव हुनु विडम्वना भएको बताएका छन् ।

दुवै उम्मेदवार सेकेण्ड हुन चाहेनन्
दुवै पक्ष सहमत नहुनुमा लायन्सका केही नेताको स्वार्थ गाँसिएको पूर्व गभर्नर बालकृष्ण बुर्लाकोटी बताउँछन् । उनका अनुसार लायन्सका दुवै पक्षका अगुवा केही नेताको व्यक्तिगत ‘इगो र स्वार्थ’ का कारण सहमति टरेको हो ।

बालकृष्ण बुर्लाकोटी

उनी भन्छन्, ‘यस विषयमा हामीले पटक–पटक छलफल गर्यौं, मिलाउने प्रयास धेरै गर्यौ । तर निष्कर्ष निस्किएन । अब चुनावमार्फत नै अघि बढ्नुको विकल्प रहेन ।’ अबको २ वर्ष लगातार पोखरालाई नेतृत्व दिन काठमाडौं तयार भए पनि दुवै उम्मेदवार दोस्रो बन्न नचाहने हठले समस्या भएको उनले बताए ।

दुवै उम्मेदवार दोस्रो हुन नचाहेका कारण समस्या निम्तिएको पूर्व गभर्नर ध्रुव थापा पनि स्वीकार गर्छन् । तर उनी यत्तिमा सहमति नभएको स्वीकार गर्न तयार छैनन् । मिलाउने जिम्मेवारी पाएका व्यक्तिले १ उम्मेदवार काँखी च्याप्दा नमिलेको उनको दावी छ । ‘मिलाउने जिम्मेवारी पाउनुभएका धनराज आचार्यले आफ्नो जिम्मेवारी पूरा गर्नुभएन । समस्या यही हो । उहाँले कि त जिम्मेवारी पूरा गर्नुपर्थ्यो, नसके छोडिदिनुपर्थ्यो ।’

ध्रुव थापा

चुनाव लोकतन्त्रको सुन्दर पक्ष भएपनि यसले लायन्सलाई ठूलो क्षति पुर्याउने थापाले चिन्ता प्रकट गरे । उनले आफूले नचाहँदा–नचाहँदै पनि समस्या आएपछि मन अमिलो बनाएर ध्रुव श्रेष्ठको पक्षमा उभिएको स्पष्ट पारे । ‘म व्यक्ति हेरेको होइन । न्यायको पक्षमा उभिएको हुँ’, उनले भने ।

आन्तरिक पर्यटन भ्रमण वर्षको सहयोगी
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनले पोखराको अर्थतन्त्र चलायमान हुनुका साथै गण्डकी प्रदेशको आन्तरिक पर्यटन भ्रमण वर्षलाई सघाउने विश्वास व्यक्त गरिएको छ ।

चीरञ्जीवि पोखरेल

पोखरा पर्यटन परिषदका अध्यक्ष चीरञ्जीवि पोखरेलले लायन्सको पोखरा महाधिवेशन गण्डकी प्रदेशको आन्तरिक पर्यटन भ्रमण वर्षलाई सघाउन महत्वपूर्ण हुने बताए । उनले भने, ‘गण्डकी प्रदेशले आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरिसकेको अवस्थामा लायन्सको महाधिवेशन निकै महत्वपूर्ण हुन्छ । यसले पोखराको अर्थतन्त्र चलायमान हुनुका साथै पर्यटन प्रवद्र्धनमा थप सघाउने छ । उनले पर्यटन भ्रमण वर्षको प्रचार–प्रसार गर्न अन्य ६ वटै प्रदेशमा पुग्ने तयारी भइरहेको समेत बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले लायन्स महाधिवेशन पोखरामा हुनु गौरवको कुरा भएको बताए । उनले हजारौं लायन्सहरू पोखरा आउँदा पोखराको अर्थतन्त्र नै चलायमान हुने भन्दै यो कार्यक्रमलाई पोखरा उद्योग वाणिज्य संघले खुलेर सहयोग गर्ने स्पष्ट पारे ।

दामु अधिकारी

उनले गण्डकी प्रदेशको आन्तरिक पर्यटन भ्रमण वर्षलाई सघाउन लायन्स जस्ता अन्य ठूला कार्यक्रम पोखरामा हुन आवश्यक रहेको बताए । पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय ठूला कार्यक्रमहरू पोखरा ल्याउन थप प्रयत्न गरिरहेको उनले स्पष्ट पारे ।

तयारी अन्तिम चरणमा
लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको पोखरामा हुने सातौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख १३ र १४ गते पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा महाधिवेशन हुँदैछ । लायन्स क्लब अफ पोखरा गण्डकी तथा पोखरामा क्रियाशील २६ वटा महिला लायन्स क्लबहरूको संयुक्त आतिथ्यतामा हुने महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी सकिएको महाधिवेशन मूल आयोजक समितिका अध्यक्ष विमला श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

‘महाधिवेशनमा लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गत करिब ४ हजार लायन्सहरूको सहभागिता रहने अनुमान गरिएको छ,’ उनले भनिन्, ‘हालसम्म २ हजार लायन्स सदस्यहरूले प्रिरजिस्ट्रेशन गरिसकेका छन् ।’ दर्ता गर्ने कार्य जारी रहेको प्रचारप्रसार संयोजक खीमा गुरुङले जानकारी दिइन् ।

पोखरास्थित विभिन्न २६ वटा महिला क्लबका अध्यक्ष/पूर्व अध्यक्ष संयोजक र सहसंयोजक रहेको विभिन्न ३४ वटा उपसमितिले आआफ्नो जिम्मेवारी बहन गरिरहेको मूल आयोजक समितिका सचिव विधाता श्रेष्ठ द्वाले जानकारी दिइन् । ‘महाधिवेशन सम्पन्न गर्न करिब ७५ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ,’ उनले भनिन्, ‘महाधिवेशनका लागि सहभागी प्रतिनिधिको दर्ता शुल्कबाट सम्पूर्ण खर्च व्यवस्थापन हुनेछ ।’

पत्रकार सम्मेलनमा डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले महिला क्लबको व्यवस्थापनमा पोखरामा भव्य रुपमा महाधिवेशन सम्पन्न हुन लागेको बताए । ‘यस पटकको महाधिवेशन ऐतिहासिक हुनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

डिष्ट्रिक्टको अबको नेतृत्व महिलाले नै लिने सन्दर्भमा महिलाकै आयोजनामा महाधिवेशन सम्पन्न हुनु गौरवको विषय भएको श्रेष्ठले बताए । महाधिवेशन लायन्सका लागि मात्रै नभइ पोखरा क्षेत्रकै लागि गौरव गर्न लायक हुने उनले बताए ।

पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनले पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष योगदान पुग्ने सहसंयोजक मीलन थापाले बताइन् । ‘देशभरबाट लायन्स सदस्य पोखरा आउने हुँदा महाधिवेशनले पर्यटन क्षेत्रमा प्रत्यक्ष योगदान पुर्याउँछ,’ उनले भनिन् । पोखरा महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने आयोजकको दावी छ ।