क्षयरोगको औषधिले बनायो अमृतको संसारै अँध्यारो

डक्टर कसैका लागि जीवनदाता हुन् भने औषधि अमृत हो । तर अन्नपूर्ण गाउँपालिका–३ का अमृत तुलाचनका लागि त्यही औषधि उल्टो भइदियो । जसका कारण आज उनको संसार अँध्यारोमा छ ।

५० वर्षीय तुलाचन क्षयरोगका विरामी थिए । रोग निको बनाउन उनले ९ वर्ष नियमित औषधि सेवन गरे । उनको क्षयरोग त निको भयो तर त्यही औषधिको असरका कारण आज उनले आफ्नो जीवन अँध्यारोमा विताउन बाध्य छन् ।

उनी पोखरा बागलुङ (भूपि शेरचन) राजमार्गमा १८ वर्षदेखि ओखलमा टिमुर र खुर्सानी कुटेर व्यापार गर्दै आएका छन् । विसं २०५८ देखि उक्त व्यापार गर्दै आएका हुन् ।
१ छोरा, २ छोरीका बुबा उनले सोही समस्याका कारण ५ कक्षाको मात्रै अध्ययन गरेका छन् । ‘शुरुका दिनमा छरछिमेकको घरमा खुर्सानी मसला कुट्दै आएको थिएँ । २०५८ मा राजमार्गमा होटल खुल्दै गएपछि आफैँले टिमुर र खुर्सानी बेच्न थालेको हुँ’, उनले भने ।

बागलुङ–पोखरा राजमार्गमा लुम्ले कृषि अनुसन्धान केन्द्रको मूलगेट अगाडि रहेको दाजुको होटलबाट उनले व्यापारको शुरुआत गरे ।

बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक ८ घण्टा ओखलमा निरन्तर टिमुर खुर्सानी कुटेर धुलो बनाउँदै आएका छन् । पोखरा–बागलुङ राजमार्गमा उनको होटलमा खाजा खाना आउनेदेखि बाटोमा हिँड्दा देख्नेसम्म उनका ग्राहक छन् ।

नेपाल दृष्टिविहीन संघ कास्कीको कार्यसमिति सदस्यसमेत रहेका तुलाचनले सरकारले अपांगता भएकालाई पनि विभिन्न रोजगारमूलक अवसर प्रदान गर्दै आएको भन्दै सबैले आफ्नो सीप र क्षमताअनुसारको काम गरेर आत्मनिर्भर हुन आग्रह गरेका छन् ।