पोखरा स्थित जनक शिक्षा सामग्री केन्द्रबाट चालु आथिएक बर्षमा ८ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण भएको छ ।
गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच ७ करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको हो ।
आधिकारिक रुपमा कक्षा-५ देखि कक्षा १० सम्मको पुस्तक बिक्री वितरण गर्नुपर्ने भए पनि यस कार्यालयबाट कक्षा १ देखि कक्षा १० सम्म र अङ्ग्रेजी माध्यममा सञ्चालित सरकारी विद्यालयका लागि आवश्यक पुस्तक पनि बिक्री वितरण भइरहेको जनक शिक्षा सामग्री केन्द्र पोखराका लेखापाल शिवविलाश पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेशअन्तर्गत मनाङ र मुस्ताङमा फागुन १ गतेदेखि नयाँ सत्र सुरु हुने गर्दछ । ती दुई जिल्लामा गत माघ महिनामै पुस्तकहरु पठाइएको सो कार्यालयले जनाएको छ ।
ती दुई जिल्लाका साथै गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जा, गोरखा, लम्मजुङ, म्याग्दी, पर्वत र बाग्लुङ गरी १६१ वटा विद्यालयमा पुस्तक उपलब्ध गराइएको कम्प्युटर आपरेटर सरोजकुमार घिमिरेले जानकारी दिए ।
प्रत्येक वर्ष पुस्तक खरीद गर्ने विद्यालयलाई नवीकरण नगरे पुस्तक उपलब्ध नगराउने जनाईको छ । कार्यालयमा पर्याप्त मात्रामा पुस्तक रहेको र विद्यालयले माग गरेको आधारमा पुस्तक उपलब्ध गराउँदै आइरहेको लेखापाल पौडेलले बताए ।





