तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो मानिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।
बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक सम्पन्न गरेको हो ।
पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।
गुफाभित्र बसेको बैठकले कार्यपालिका सदस्य गिरबहादुर बस्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपभोग गर्न वञ्चित रहेका २२ घरमा सौर्य ऊर्जा प्रणाली जडानका लागि रु सात लाख ७३ हजार बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
बैठकले गोबर ग्याँस जडानका लागि रु तीन लाख ३६ हजार, नौ जना माछापालक कृषकलाई रु छ लाख, विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि थप रु तीन लाख बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।
बैठकले बन्दीपुर अस्पतालमा सञ्चालन गर्न लागिएको शल्यक्रिया सेवाका लागि चाहिने आवश्यक औषधि खरीद गर्ने, दररेट निर्धारण गर्ने, चालू शीर्षकमा रहेका केही बजेटलाई रकमान्तर गर्ने, ढल निकास पोखराबाट प्राप्त रु ४० करोड बजेटबाट वडा नं ४ को टुँडिखेल र झप्री ओदाने पोखरीमा ढल निकासको अनुमति दिने निर्णयसमेत गरेको छ ।
विसं २०४४ चैत १३ गते शनिबार अर्थात् सन् १९८८ मार्च २६ मा यो गुफा पत्ता लगाएको थियो ।पुरातत्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यस गुफालाई अन्दाजी तीन हजार ५०० वर्ष पुरानो मानिएको छ ।
सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले गुफा अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढेको जानकारी दिनुभयो ।




