गोरखाको शहीद लखन गाउँपालिका -७ का वडाध्यक्ष शरण श्रेष्ठ एक उद्धाहरणीय बन्दै सरकारबाट पाएको तलबभत्ता शैक्षिक क्षेत्रमा लगानी गरेका छन् ।
जनप्रतिनिधिबापत आफूले पाएको तलब र भत्ताले वडाभित्रका पाँच वटा सरकारी विद्यालयका विद्यार्थीलाई पाठ्यपुस्तक किनेर वितरण गरेका हुन् ।
उनले २ लाख ८८ हजार रुपैयाँले अंग्रेजी विषयका किताब किनेर वडाध्यक्ष श्रेष्ठले वितरण गरेका हुन् । सरकारले अन्य विषयका किताब निस्शुल्क उपलब्ध गराए पनि अंग्रेजी विषयका किताब भने विद्यार्थीले नै खरिद गर्नुपर्छ।
विद्यार्थी र अभिभावकलाई आर्थिक भार नपरोस् भनेर आफूले पाएको पारिश्रमिक र भत्ताले शहीद स्मृति माविमा ७० थान, चण्डिका आधारभूत विद्यालयमा ६७ थान, लखनथापा आधारभूत विद्यालयमा ५३ थान र खाब्दी र मकैपुर प्राविका विद्यार्थीलाई किताब उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए।
वडाध्यक्ष निर्वाचित भएपछिका २१ महिनाको तलब, भत्ता श्रेष्ठले वडाभित्र शिक्षा, स्वास्थ्य र मन्दिर निर्माणमा खर्च गर्दै आईरहेका छन् । श्रेष्ठ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
वडाध्यक्ष भएपछि २१ महिनामा मासिक १८ हजारका दरले आएको तलब र ८० हजार भत्ता सामाजिक काममा खर्च गरेको श्रेष्ठले बताए। वडाभित्रका सरकारी विद्यालय यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पढाइ हुने उनले बताए।






