यी हुन् श्रीलंकामा विस्फोट गराउनेहरु

श्रीलंकामा भएकाे शृंखलाबद्ध बम विस्फाेटकाे घटनामा संलग्न ८ जना आतंककारीकाे तस्बिर सार्वजनिक भएकाे छ। मंगलबार हमलाकाे जिम्मेवारी लिएकाे आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले साे घटना घटाउन सामेल भएका सबै ८ जना लडाकुकाे तस्बिर सार्वजनिक गरेकाे हाे।

ट्विटरबाट सार्वजनिक गरिएकाे साे तस्बिरमा देखिएका ८ जना लडाकुले नै साे हमला गराइएकाे दाबी गरिएकाे छ। भारतीय समाचार संस्था ‘आज तक’का अनुसार तस्बिर ट्विटर ह्यान्डल @Natsecjeff बाट सार्वजनिक गरिएकाे हाे।

तस्बिरमा देखिएका सबैले कालाे कपडा लगाएका छन् भने एक जना बाहेकले अनुहार ढाकेका छन्।

श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि मंगलबार घटना आइएसले गराएकाे हुनसक्ने अनुमान गरेका थिए। यसअघि उनले घटनामा अन्तर्राष्ट्रिय तत्वकाे हात रहेकाे बताएका थिए।

आइतबार राजधानी काेलम्बाे, नेगोम्बो र पूर्वी तटीय क्षेत्र बाट्टिकोलामा गराइएकाे विस्फाेटमा हालसम्म ३ सय २१ जनाकाे मृत्यु भएकाे छ भने ५ सय भन्दा बढी घाइते भएका छन्। मारिनेमा ४५ जना विदेशी नागिरक समेत रहेकाे बताइएकाे छ।