पोखरा १७ महतगौंडास्थित जानकी आधारभूत स्कुल माध्यमिक बनेको छ । २०३५ सालमा स्थापित विद्यालयले ४ दशकपछि यो शैक्षिक सत्रबाट कक्षा ९ को पठनपाठन सुरु गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष तीर्थ अधिकारीले मावि तहको कक्षा शुभारम्भ गरे । उनले मावि सञ्चालन गर्न सक्दो सहायता गर्ने विश्वास दिलाए ।
विद्यार्थी संख्याको अभावमा कतिपय सामुदायिक विद्यालय गाभिने क्रम बढे पनि विद्यार्थी तथा अभिभावकको माग बमोजिम आधारभूतबाट मावि तह सञ्चालन हुनु सकारात्मक भएको पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका योगीले बताइन् ।
प्रधानाध्यापक गोपाल पौडेलले कक्षा ८ उत्तीर्ण भई ९ कक्षाका लागि अन्य विद्यालय खोज्नुपर्ने विद्यार्थीको बाध्ययता हटेको बताए । विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै व्यवस्थापन समिति अध्यक्ष टीकाराम भण्डारीले विद्यार्थी तथा अभिभावको मन जित्ने गरी गुणस्तरीय शिक्षामा दिइने प्रतिवद्धता गरे । मावि स्थानीय आवश्यता भए पनि आर्थिक स्रोतका साथै शिक्षक दरबन्दीमा समस्या रहेको भण्डारीले सुनाए ।
कक्षा ८ उत्तीर्ण विद्यार्थी अंकित गुरुङ र सन्तोसी विकले बाल्यकालदेखि पढ्दै आएको विद्यालयमा मावि पढ्न पाउनु खुसीको विषय भएको बताए । २ सय विद्यार्थी पढ्ने विद्यालयमा कक्षा ९ मा २५ जना विद्यार्थी भर्ना भएका छन् ।
कार्यक्रममा सल्लाहकार गंगा पोख्रेल, ओम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम थापा, शिक्षक तुल्सी गिरी लगायतले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि शिक्षक, अभिभावक एवं विद्यार्थीको सामूहिक प्रयास जरुरी भएको बताए ।





