अन्तर समाज महासंघ राष्ट्रिय समिति नेपालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भित्तेपात्रो विमोचन पोखरा महानगरका मेयर मानबहादुर जिसीले गरेका थिए ।
उक्त अवसरमा उनले पोखराको विकास र समृद्धिमा पोखरावासीको भन्दा बाहिरकै नागरिकको भूमिका महत्वपूर्ण भएको बताए । आफूले पोखरावासी र जिल्ला वाहिरका भनेर कहिल्यै फरक व्यवहार नगरेको भन्दै उनले जिल्लाका हुन् या जिल्ला बाहिरका हुन् सबै नेपाली नागरिक भएको उनले स्पष्ट पारे ।

महासंघले निर्माण गर्न लागेको पार्कमा महानगरको पूर्ण सहयोग हुने भन्दै केही प्राविधिक समस्याले अड्किएको भन्दै मेयर जिसीले छिट्टै प्रक्रिया पुरा गरेर निर्माण कार्य शुभारम्भ हुने बताए ।
महानगरका प्रमुख कार्यकारी अधिकृत शेषनारायण पौडेलले पार्क निर्माणमा केही ढिलाई भएको भन्दै महानगरको ध्यान यसमा गएको स्पष्ट पारे । उनले पार्क निर्माण छिट्टै शुरु हुने समेत बताए ।
महासंघका अध्यक्ष मञ्जु पौडेल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार डा. टेकनारायण पौडेल, अनिता गुरुङ, तीर्थलाल श्रेष्ठ, अग्रज पत्रकार नारायण कार्की, धादिङ–पोखरा सम्पर्क समाजका निवर्तमान अध्यक्ष युवराज खतिवडा, क्यालेण्डर प्रकाशन समिति संयोजक एवं महासंघका कोषाध्यक्ष युगमराज अगस्ती लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष भानु भण्डारी क्षितीज र सञ्चालन महासचिव विजयकुमार प्रधानले गरेका थिए । उक्त अवसरमा उत्कृष्ट विज्ञापन दाता कामना सेवा विकास बैंक र युवा व्यवसायी युवराज खतिवडालाई सम्मान गरिएको थियो ।




