क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेलसहित पाँच पक्राउ

क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेलसहित ५ जनालाई क्रिस्चियन धर्म प्रचार गरेको अभियोगमा प्रहरीले पक्रेको छ । प्रहरीले मंगलबार घोराहीमा दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै , संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ परेका छन् ।

उनीहरुको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगाएतका सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए । पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरित धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले जानकारी दिए ।

अमेरीकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको उनले बताए ।