सरकारको वैशाखभर ‘खोप महिना’

सरकारले हरेक वर्षको वैशाख महिनालाई ‘खोप महिना’को रुपमा मनाउँदै आएको छ।

कुनै पनि बालबालिका खोपको पहुँचभन्दा बाहिर नहुन् भनेर वैशाखलाई खोप महिनाको रुपमा मनाउने गरिएको हो।

‘खोज र खोप’ भन्ने उद्देश्यले खोप लगाउने उमेरका सबै बालबालिकालाई खोजी गर्ने, खोप नपाएकालाई खोप दिने, पूर्ण खोप पाए नपाएको सुनिश्चित गर्ने काम यो महिनाभरि हुने गर्छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोप महिनामा हरेक स्थानीय तहभित्र भएका खोप पाउने उमेरका बालबालिकाले खोप पाएनपाएको खोजी गर्ने, नपाएको भए पनि किन पाएनन् भनेर विश्लेषण गर्ने, नयाँ कार्यक्रम बनाउने लगायतका गतिविधि हुने बताए।

अन्य समयमा पनि यी गतिविधि भए पनि खोप महिनाका समयमै यसमा केन्द्रित हुने उनको भनाइ छ। विश्व स्वास्थ्य संगठनले हरेक अप्रिलको अन्तिम सातालाई ‘वल्र्ड इमुनाइजेशन विक’का रुपमा मनाउने गरेको छ। नेपालले त्यसैलाई आधार मानेर यस महिनालाई खोप महिनाका रुपमा मनाउने गर्छ।

बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृत भरत भण्डारीले प्रत्येक वर्ष खोपको दिगोपनका खोपसम्बन्धी योजना बनाउने, जनप्रतिनीधिलाई खोपको महत्वबारे बुझाउने कार्यसमेत हुने जानकारी दिए।