भरतपुर महानगरपालिका–३ नगरवन क्षेत्र नारायणगढमा निर्र्माण हुन लागेको स्पाइनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्रका लागि भरतपुरका ९१ वर्षीय उदयकुमार पियाले तीन करोड सहयोग गरेका छन् ।
उनले पत्नी चमेलीदेवी पियाको नाममा अस्पताल निर्माण गर्न सहयोग गरेका हुन् । चमेलीको सम्झनामा अस्पतालाई सहयोग गरेको उदयको भनाइ छ । ‘स्पाइनल इन्ज्योरी भएका बिरामीलाई हिँड्डुल गर्न निकै कठिन हुन्छ ।
उनीहरूको उपचार र पुनस्र्थापना गरिने भएकाले सहयोग गरेको हुँ,’ उनले भने । चमेलीको १८ वर्षअघि मृत्यु भएको थियो । बन्दीपुरमा जन्मिएका पिया २००५ देखि चितवनमा व्यापार गर्दै आएका छन् ।
व्यवसायबाट जोगाएको पैसा सहयोग गरेको उनले बताए । उदयले गरेको सहयोगप्रति परिवारजन पनि खुसी छन् । उनका जेठा छोरा डा. मदनकुमार पिया सामाजिक कार्यका लागि बुबाले गरेको सहयोगले खुशी तुल्याएको बताए ।
६ वटा रोटरी क्लबहरू रोटरी क्लब अफ चितवन, रत्ननगर, नारायणगढ, नारायणी मिड टाउन, भरतपुर र जावलाखेलले संयुक्त रूपमा स्पाइनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्र स्थापना गर्न लागेका हुन् ।
काठमाडौंपछि मोफसलमा पहिलोपटक केन्द्र बन्न लागेको परियोजनाका संयोजक उत्तमलाल चुकेले बताए । एक बिघा क्षेत्रफलमा १३ हजार वर्ग्फिटको भवन बन्ने छ । २५ शैंयाको केन्द्रका निर्माण गर्न ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने केन्द्रका लागि भरतपुर महानगरले जग्गा उपब्ध गराएको छ । भवनको सोमबार शिलान्यास गरियो ।




