विशेश्वर आचार्य लायन्सको ‘सतिसाल’

लायन्सका अगुवा नेताहरूले उम्मेदवार विशेश्वर आचार्य लायन्समा ‘सतिसाल’ भएको उद्घोष गरेका छन् । विशेश्वर आचार्य जत्तिको उम्मेदवार लायन्सले पाउन अबका दिनमा मुस्किल भन्दै उहाँलाई कसैले हल्लाउन नसक्ने स्पष्ट पारे ।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्ने लायन्सका पूर्व गभर्नहरू तथा नेताहरूले लायन्समा विशेश्वरको विकल्प अरु हुन नसक्ने र तुलना अरुसंग गर्न नमिल्ने समेत बताए । नामै तोकेर उनीहरूले वर्तमान गभर्नर अशोक श्रेष्ठले कसैलाई काखा र कसैलाई पाखा गरेको आरोप समेत लगाए ।

उनीहरूले भने, ‘वर्तमान गभर्नर गभर्नरकै हैसियतमा तटस्त बस्नुपर्छ । उहाँले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन ।’ गभर्नर श्रेष्ठले दुवै उम्मेदवारलाई २ भाइ छोरा जस्तै गर्नुपर्नेमा काखापाखा गरेर बेइमानी र बेइजती गरेको उनीहरूको दुखेसो थियो ।

‘उहाँले कुनै एक झुण्डको फेरो समातेर हिंडे कुनै ठाउँमा नराम्रोसंग पछारिनहुन्छ’, उनीहरूले चेतावनी दिए । श्रेष्ठसंग बेलैमा सोच्न र लायन्समा योग्य कर्मठ, क्षमतावान व्यक्तित्वलाई अघि बढाउन आग्रह समेत गरे ।

क्षमतावान व्यक्तिले काम गर्न र जिम्मेवारी लिन समय नलाग्ने भन्दै उनीहरूले लायन्समा रहेर लामो समय काम गरें, भूमिका पाइन भनेर रोइलो गर्र्नुको कुनै अर्थ नराख्ने बताए । अर्का उम्मेदवार धु्रव श्रेष्ठप्रति लक्षित गर्दै उनीहरूले भने, ‘उहाँको रेल छुटिसक्यो । अब रेल चढ्न पाइन भनेर मात्र हुँदैन । रेल जसले सक्छ उसैले चढ्ने हो । चढ्न नसक्ने छुट्छ ।’

साथै वक्ताहरूले लायन्सभित्र विभाजन ल्याउन खोजिएको भन्दै त्यसप्रति सजक हुनुपर्ने र त्यस्ता गलत क्रियाकलापलाई निस्तेज पारेरै छाड्ने उद्घोष गरे । १ शताव्दी पार गरेको संस्थालाई बद्नाम गराउने चेष्टा कसैले नगर्न र गर्न खोजे समाप्त हुने उनीहरूको चेतावनी थियो । ‘लायन्समा समाज सेवा गर्न आउने हो, राजनीति होइन’, उनीहरूले भने, ‘राजनीति गर्न पार्टी खोले हुन्छ, लायन्समा आउने छुट छैन ।’

सर्वसम्मत उम्मेदवार बनाउन गरिएका सबै प्रयास विफल भएको भन्दै नेताहरूले अब प्रजातान्त्रिक पद्धति चुनावमा जानुको विकल्प नभएको बताए । उनीहरूले लायन्सका केही अगुवाको महत्वाकांक्षा र हठका कारण सहमति विग्रिएको समेत स्पष्ट पारे ।

‘तपाइँ लायन्स साथीहरू, सजक हुनुस्, विवेक पुर्याउनुस् । कसैले भाइ, दिदीबहिनी, भाउजु भन्दै, चिप्लो घस्दै फकाउलान्, फँसाउलान्’, नेताहरूले भने, ‘लायन्सको एकमात्र बलियो र डायनामिक उम्मेदवार विशेश्वर आचार्य हो । योग्य उम्मेदवार पनि उहाँ नै हो । सबैलाई न्याय गर्न सक्ने र लायन्स हाँक्न सक्ने व्यक्तित्व पनि आचार्य नै हो ।’

लायन्स क्लब अफ पोखरा सेन्ट्रलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व गभर्नरद्वय बालकृष्ण बुर्लाकोटी, धनराज आचार्य, क्याविनेट सेक्रेटरी राम बसेल, सिनियर एडभाइजर वसन्तकुमार कर्माचार्य, एडभाइजर किशोर बराल, सिनियर एओजीद्वय आरसी पोखरेल, सुचित्रा थापा, नेताहरू वशुदा भट्टराई, शान्ता थापा, शोभाखर भण्डारी लगायतले बोलेका थिए ।

म निकै उत्साहित भएको छु : उम्मेदवार आचार्य
कार्यक्रममा सेकण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार विशेश्वर आचार्यले अग्रजको सल्लाह, सुझाव, सबैको साथ, मायाले आफू निकै उत्साहित भएको बताए । उनले आफ्नो पक्षमा देखिएको माहोलले काम गर्ने जोश र जाँगर अझै थपिदिएको भन्दै सबैलाई न्याय गर्नेगरी अघि बढ्ने प्रतिवद्धता जनाए ।

आफूले फराकिलो मत अन्तरले जित्नुपर्ने भन्दै उम्मेदवार आचार्यले युवाले नेतृत्व गरेको संस्था यस्तो हुन्छ भनेर देखाइदिने स्पष्ट पारे । लायन्सबाट आफूले केही नदिने भन्दै उनले आफूले गर्ने प्रत्येक काम पूर्ण पारदर्शी र घामजस्तै छर्लङ्ग हुने बताए । उनले भने, ‘म माथि जुन आशा र भरोषा गर्नुभएको छ त्यसलाई कदापि मर्न दिन्न । सबैको साथ र समर्थले लायन्सलाई थप उचाइमा पुर्याउने प्रण गर्दछु ।’