लगातार वर्षा हुदा बाढी आउने सन्त्रास

निरन्तरको बर्षातका कारण बागलुङको गल्कोट स्थित हटियाबजारका स्थानियबासी बाढीको सन्त्रासले चिन्तित बनेका छन् ।

गत बैशाख १ गते गौदी खोलामा आएको बाढीका कारण यसपाली पनि लगातारको वर्षाले त्यस आसपासका स्थानियबासी चिन्तित बनेका हुन् ।

गल्कोट नगरपालिका ३ हटियाको बौराह ठुलोचौतारामा लगाईएको करिब ५० थान ग्याबिन जाली खोलाले बगाएकोले हटियाबजार बाढीको उच्च जोखिममा परेको स्थानीयको भनाई छ ।

गल्कोट नगरपालिका १ दुदिलाभाटी र गल्कोट नगरपालिका २ नरेठाँटीमा असिना सहितको बेमौसमी बर्षात हुदाँ गौदी खोलामा बाढी आएर बौराहमा भएका बस्ती र हटियाबजार संरक्षण गर्ने ग्याबिन जाली लगाइएको थियो ।

गलकोटमा पुराना संरचनामात्र होइन नयाँ बन्ने घर पनि नदी छेउमै बन्न थालेका छन् । गलकोटमा मध्यपहाडी लोकमार्ग बिस्तार भएसँगै मापदण्ड बिपरित खोला किरारमा घर तथा बिभिन्न भवनहरु बन्ने क्रम बढेको हो । गल्कोटको एकमात्र गलकोट बहुमुखि क्यापस समेत जोखिममा छ ।

समयमै खोलामा आवश्यक अनुसारको कार्य गर्न सकिएन भने धनजनको ठुलो क्षति हुने बताईएको छ । बैशाख १ गतेको बाढीका कारण हटियामा मात्रै १ करोड ५४ लाख बराबरको क्षति भएको वडा सदस्य झहर बहादुर खत्रीले बताए ।