पोखरामा विद्यार्थी भेषमा धर्म प्रचार गर्ने २ जापानी निकालिए

गृह मन्त्रालयले इसाई धर्म प्रचार गर्ने दुई जापानीलाई निकालेको छ। गृहले मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ।

उनीहरूले पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न भिसा लिएका थिए। विद्यार्थी भिसा लिएर धर्मप्रचार गरेकाले उनीहरुलाई निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

अध्यागमन विभागको प्रस्तावमा गृहसचिव प्रेमकुमार राईले ‘सचिव स्तरीय’निर्णयबाट चैत २७ मा उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेका हुन् ।

पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भए पनि मासाहिरो र युकारी रूपन्देहीको सैनामैना नगरपालिकास्थित सालझण्डीमा डेरामा बस्दै आएका थिए । बाइबललगायत सामग्री लिएर धर्म प्रचार गरेको पाइएपछि प्रहरीले उनीहरूलाई चैत २२ गते पक्राउ गरेको थियो ।