गोरखामा ४ जना विरुद्ध प्राकृतिक सम्पदा दोहनसम्बन्धी मुद्धा

गोरखामा ४ जना विरुद्ध प्राकृतिक सम्पदाको दोहनसम्बन्धी मुद्धा चलाईएको छ ।

अवैध रुपमा गण्डकी गाउँपालिका– ७ घ्याल्चोकस्थित त्रिशुली नदी किनारमा नदीबाट बालुवा, ढुंगा,गिटीलगायतका सामग्री निकालिरहेको बेलामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा एक्साभेटर चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ५ का २५ वर्षका राजिव सिलवाल, टिप्पर चालकहरु धादिङकै गजुरी गाउँपालिका –६ का २७ वर्षका आइतराज मोक्तान, ३७ वर्षका मुक्त तामाङ र २७ वर्षका नवराज तामाङ रहेका छन् ।

पक्राउ परेका चारैजनाविरुद्ध आइतबार प्राकृतिक सम्पदाको दोहनसम्बन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिले शुक्रबार अनुगमनका क्रममा एक्साभेटर प्रयोग गरेर उत्खनन् गरिरहेको भेटेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

अनुगमनका क्रममा यो ठाउँमा गाउँपालिकाले नदीजन्य सामग्री संकलनको ठेक्का नलगाएको पनि पाइएको समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताउनुभयो ।

अतिक्रमणमा संलग्नलाई बिगो खुलेमा बिगो बमोजिम र नखुलेमा १० लाख रुपैयाँसम्म जरिवाना र १० वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।