
निजी विद्यालयले शैक्षिक शुल्कका नाममा अभिभावकको ढाड सेकिरहेकै वेला कास्कीमा केही नाम चलेका सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप ह्वात्तै बढेको छ ।
कास्की जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा ख्याती कमाएको वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.विमा पनि भर्ना अभियानसँगसँगै विद्यार्थी भर्ना गर्न भ्याई नभ्याई भएको हो ।
निश्चित सिटमा भर्ना खुलाए पनि तोकिएको भन्दा चौगुना बढि प्रवेश परीक्षामा सहभागी भएपछि, विद्यार्थीको चाप थेग्न धौ धौ परिरहेको विद्यालयले जनाएको छ ।
उत्कृष्ट भनिएका निजी विद्यालयवाट नै अधिकांश विद्यार्थी परीक्षामा सहभागी भएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । अघिल्लो शैक्षिक सत्र भन्दा यसपाली विद्यार्थीको चाप अत्याधिक बढेको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।
अब्बल किसिमको शैक्षिक गुणस्तर र प्रविधीमैत्री वातावरणले गर्दा विद्यालयमा आर्कषण बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले बताउनुभयो । सवै पक्षको समन्वय भयो भने सरकारी विद्यालयको शैक्षिक गुणस्तर पनि उत्कृष्ट हुन्छ भन्ने उदाहरण विद्यालयले दिएको स्थानियको भनाई छ ।
विद्यालयमा भर्ना अभियानसँगसँगै विपन्न परिवारका वालवालिकाको संरक्षकत्व लिने क्रम पनि वढेको छ।





