राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले प्रविधिको उच्चतम उपयोग गरी सहकारीमार्फत आर्थिक रुपान्तरणको क्षेत्रमा क्रियाशिल हुन सहकारीकर्मीहरुलाई आव्हान गर्नु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालन गरेको एक हप्ते सहकारी लेखा तथा वित्तीय व्यवस्थापन तालिमको आइतवार उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
सहकारी संघ संस्थाका सञ्चालक तथा व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी सहकारीको लेखालाई थप प्रभावकारी बनाउन तालिम आयोजना गरिएको संघले जनाएको छ ।
विभिन्न सहकारी संघ संस्थाका ३० जनाको सहभागिता रहेको तालिममा सहकारीको ऐतिहासिक विकासक्रम, सहकारीका मूल्य, मान्यता र सिद्धान्त, सहकारीमा वचत र ऋण व्यवस्थापन, लेखाको सैद्धान्तिक अवधारणा, लेखाका विभिन्न चरणहरु, लेखा राख्ने तरिका लगायतका विषयमा सहजिकरण हुनेछ ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, सचिव तेजेन्द्र थापा, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखाका प्रमुख रामेश्वर अर्याल लगायतले सहजीकरण गर्ने संघले जनाएको छ ।




