१४ वर्षकी किशोरीसँग प्रेम विवाह गरेको बताउने युवक जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । किशोरीसँग विवाह गरी भागेका सप्तरी राजविराज नगरपालिका–१४ गोर्खाली टोल घर भई विराटनगर– १४ बस्दै आएका ३० वर्षका दीपक राउत जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका हुन् ।
कानुनले २० वर्ष भन्दा कम उमेरमा हुने विवाहलाई बर्जित गरेको छ, त्यस्तै १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै यौन सम्पर्क गरेमा पनि कसुर मानिन्छ । किशोरी १४ वर्षको मात्र भएकाले पीडित परिवारको उजुरीका आधारमा राउतलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
गत फागुन ५ गते विराटनगर महानगरपालिका–१३ बस्दै आएकी १४ वर्षकी किशोरी हराएको भन्दै फागुन ६ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी परेको थियो । दुई महिना खोजी गरेको प्रहरीले किशोरी र युवकलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
बजार जान्छु भनी हराएकी किशोरीलाई दीपकले प्रेम विवाह गरी काठमाडौं पुर्याएका थिए । महाननगरिय प्रहरी कार्यालय वृत्त गौशालाको समन्वयमा काठमाडौं महानगरपालिका– ९ स्थित तिलगंगा एरियामाबाट पक्राउ गरी वैशाख ५ गते विराटनगर ल्याएको थियो । प्रहरीले किशोरीलाई आफन्तको जिम्मा लगाएर युवकलाई जवरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको हो ।




