स्वास्थ्य राज्यमन्त्रीको अस्पतालभित्र नर्स मृत फेला

 संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवद्वारा सञ्चालित जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालमा सोही अस्पतालमा कार्यरत एक नर्स मृत्त फेला परेकी छन् ।

आइतबार राति अस्पतालको पहिलो तलाको वाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी नर्सको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको शव फेला परेको पुष्टि गरेका छन् ।

घटनाबारे जानकारी पाए लगत्तै घटनास्थल पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको छ । डीएसपी कार्कीले घटनाबारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिएका छन् । आइतबार बिहान घटनाको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रामेश्वर काफ्लेले जनाएका छन् ।

नर्सले अस्पतालभित्रै के कारणले पासो लगाउनुको कारण स्पष्ट हुनुपर्ने माग राख्दै घटना शंकास्पद रहेको भन्दै स्थानीय महिला अधिकारवादी संघसंस्थाहरूले सत्य तथ्य छानबिनको माग गरेका छन् । उनीहरूले मन्त्री यादव घटना ढाकछोप गर्न लागि परेको आरोप लगाएका छन् ।