इलाहाबाद उच्च अदालतले भारतीय जनता पार्टीका विधायक अशोकसिंह चन्देललाई आजीवन काराबासको सजाय सुनाएको छ। फैसला हुँदासम्म अदालत परिसरमै रहेका उनी केही समयमै फरार भएका छन्।
उत्तर प्रदेशको हमीरपुर जिल्लामा २२ वर्ष पहिला भएको एक सामूहिक हत्याकाण्ड मुद्दामा फैसला गर्दै अदालतले भाजपा विधायक चन्देलसहित १० जनालाई आजीवन कारावासको सजाय सुनाएको हो। निर्दलीय राजनीतिका समर्थक चन्देल पछि भाजपा प्रवेश गरेका थिए।
सजाय घोषणा हुँदा विधायक चन्देल अदालतमै थिए। तर दोषी ठहर भएको फैसला सुनेपछि भने फरार भएका छन्। सो सामूहिक हत्याकाण्डमा एकै परिवारका पाँच जनाको ज्यान गएको थियो।
घटनामा दोषीलाई सजाय माग गर्दै भाजापाकै नेता राजीश शुक्लाले उजुरी गरेका थिए। उनको जिकीरलाई आशिंक स्वीकार गर्दै उच्च अदालतले जिल्ला अदालतको सफाई दिने फैसलालाई उल्टाएको हो।
२००२ जुलाई २ मा उनीहरुले जिल्ला अदालतबाट सफाई पाएका थिए। त्यसविरुद्ध सरकार र भाजपाका नेता शुक्ला उच्च अदालत पुगेका थिए।
१९९७ जनवरी २६ मा शुक्ला र चन्देलबीच हमीरपुरको सुभाषनगरमा वादविवाद भएको थिय। पछि यसले ठुलो झगडाको रुप लिँदै गोली हानाहानसम्म पुगेको थियो। सो गोली काण्डमा परी नेता शुक्लाका दुई भाई राकेश शुक्ला र राजेश शुक्ला, नौ वर्षका भतिजा अम्बुज, वेद नायक र श्रीकान्त पाण्डेको मृत्यु भएको थियो।
घटनामा दुई बालक र अन्य ५ जना घाइते भएका थिए। २००२ को जुलाईमा जिल्ला एवं सत्र न्यायाधीशले चन्दलसहित सबैलाई सफाइ दिएको थियो। सामूहिक हत्याको सुनुवाइपछि सफाइ दिने न्यायाधीश अश्विनी कुमार यसअघि नै कारबाहीमा समेत परिसकेका छन्।




