कुम्लोमा के बोकेकी ? (कविता)

गुलावमय परिधानमा सजिएकी 
शिरमा पारदर्शी घुम्टो ओढेको 
अनि चुल्ठोमा 
मयुरका प्वाँख जडेकी 
एउटी मृगनयनी 
सुस्तरी पाइला चाल्दै 
मेरै नजिक आइरहेकी छिन् 

मुलायम मखमलीको 
मुटु आकारको कुम्लो 
सलक्क पिठ्युँमा बोकेकी 
ती कोमल खुट्टाहरुले 
चिल्लो सडकमा कुल्चिएकी छिन् 
म छेउमा उभिइरहेको छु 
उनी मलाई देखेर मुस्कुराउँछिन्

कुम्लोमा के बोकेकी ? 
म नजरले प्रश्न गर्छु 
उनी कुम्लो खोल्छिन 
सुन्दर ताजा गुलावहरु 
मेरो पयरमा झारिरहन्छिन् ।