घर,अफिस र पसलका
सादा भित्ताहरुमा
क्यालेन्डरका रङ्गीन पानाहरु फेरिए होला
जीवनको तोस्रोबाट
आयुका केस्राहरु फ्यास्स फ्यास्स
खकुलिंदै गरेको यो समय
छातीभित्र उदाएको प्रेमको घाम
मनभित्र आसीन विश्वासको चहकिलो जून
कहिल्यै पुरानो भएनन्
बरु झनझन जवान छन् ।
बर्ष ,महिना,गते,बा
अनि सिङ्गो शताब्दीक
गणितीय स्वरुप परिवर्तन भए
बच्चा हुर्काइसकेको चरीको गुंड झैँ
थुपै बर्षहरु पुराना बनायौँ हामीले
संगै कैयौंपटक नयाँ युगसमेत पुरानो भयो।
आँखै अगाडि कयौं दृश्य परिदृश्यहरु फेरिए
जसरी जे जे फेरिए
पनि यो विश्वासको रङ्ग अनि
तिमीलाई प्रेम गर्ने मुटु
कहिल्यै फेरिने छैन।




