कलेजो मानव शरीरको निकै बलियो अंग हो । यसको थोरै भाग बाँकी हुँदा पनि खास असर नदेखिन सक्छ । असर देखिए पनि विभिन्न भ्रमका कारण मानिस परम्परागत उपचारमा लाग्छन् । बिरामी जब पेट तथा कलेजो रोग विशेषज्ञकहाँ बिरामी पुग्छन्, निकै ढिलो भइसकेको हुन्छ । यही ढिलाइले मानिसले ठूलो सास्ती, आर्थिक हानीमात्र बेहोर्नु पर्दैन, ज्यानैसम्म जान सक्छ ।
यस्तो जोखिम र कलेजोको हेरचाहबारे पोखरामा शुक्रबार विमर्श भएको छ । पोखराको पृथ्वीचोकमा रहेको पेट तथा कलेजो उपचार केन्द्र (ग्यास्ट्रो केयर)ले शुक्रबार विश्व कलेजो दिवस मनायो । कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले कलेजोको बिरामी सुरुआतै चरणमै नदेखिने भएकाले बेला बेलामा कलेजो जाँच गराउन आग्रह गरे । उनले नेपालीमा रक्सी सेवनकै कारण कलेजो बिग्रिने दर करिब ९० प्रतिशत रहेको जनाउँदै कलेजो रोगीका लागि रक्सी विष भएको बताए ।

दिवसको अवसरमा ग्यास्ट्रो केयरमा डा. भट्टराईले ६० जना बिरामी सित्तैमा जाँग गरेका छन् । उनीहरुको रक्त परीक्षणसमेत सित्तैमा भएको छ ।
‘कलेजोलाई माया गर्नुस्, दीर्घ जीवन पाउनुहोस्’ भन्ने नारासहित विश्वभर मनाइएको दिवसमा डा. भट्टराईले मुख बारेरमात्र रोग नहुने प्रष्ट पारे । उनले भने, ‘कडा औषधी खाँदा झन् बढी तागतिलो खानेकुरा चाहिन्छ, सबै कुरा बारेपछि त सद्दे मानिस पनि बिरामी पर्छ ।’ उनले कलेजोलाई स्वस्थ राख्न सफा पानी पिउन, रक्सी र धूमपान नगर्न, मोटोपन हुन नदिन र व्यायम गरी शरीरलाई तन्दुरुस्त राख्न सुझाए ।
कार्यक्रममा उपस्थित कलेजोका बिरामीहरुले रक्सी सेवनका कारण भोग्नुपरेका सास्ती, अनेक भ्रमका कारण ज्यानै गएका घटना सुनाए । कार्यक्रममा वरिष्ठ रेडियोलोजिस्ट डा. मेरिना ज्ञवाली भट्टराई, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि –युआरएल)का प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त लगायतले बोलेका थिए ।
दिवसको अवसरमा ग्यास्ट्रो केयरमा डा. भट्टराईले ६० जना बिरामी सित्तैमा जाँग गरेका छन् । उनीहरुको रक्त परीक्षणसमेत सित्तैमा भएको छ । नेपालमा पछिल्लो समय सिरोसिस, हेपाटाइसिटस बि र सि र फ्याट्टी लिभरका बिरामी बढ्दै गएका छन् । कलेजोको गम्भीर अवस्थामा आइसकेका बिरामीमा जन्डिस हुने, खाना रुचि नहुने, दुब्लाउँदै जाने विविध समस्या हुन्छन् ।




