स्वतन्त्र पत्रकार समूह संघमा आवद्ध

मोरङका स्वतन्त्र पत्रकारहरुको संगठन ‘स्वतन्त्र पत्रकार समूह’ पोखरामा केन्द्रीय कार्यालय रहेको स्वतन्त्र पत्रकार संघ नेपालमा आवद्ध भएको छ ।

संघका राष्ट्रिय अध्यक्ष र महासचिवको विशेष उपस्थितिमा विराटनगरमा शुक्रबार भएको पत्रकारहरुको भेलाले उक्त निर्णय गरेको हो ।

भेलालाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले संघको स्थापनाकालीन इतिहासका बारेमा जानकारी दिँदै स्वतन्त्र पत्रकारहरुको हकहितका लागि संगठनको आवश्यकता महसुस गरी संघको स्थापना गरिएको बताए ।

संघका राष्ट्रिय महासचिव नवराज पहाडीले संघको उद्देश्यमा प्रकाश पार्दै आवाजविहीनहरुका आवाज बन्ने हामी हाम्रा आवाजलाई दविन नदिन स्वतन्त्र पत्रकार संघको आवश्यकता भएको बताए ।

भेलाको अध्यक्षको आसनबाट स्वतन्त्र पत्रकार समूह मोरङका संयोजक विजयहरि खतिवडाले झण्डै एक दशकदेखि जिल्लामा स्वतन्त्र गतिविधि सञ्चालन गरेको र २०७० सालदेखि स्वतन्त्र पत्रकार समूह बनाइ कार्यरत रहँदै आएको जानकारी दिए ।

उक्त भेलामा सहभागीहरुले संघको उद्देश्य, इतिहास र भावी कार्यक्रमबारे जिज्ञासा राखेका थिए । भेलाले एकसाताभित्र संघको जिल्ला समिति गठन गर्ने निर्णय गरेको छ ।