व्यवस्थित शवदाहस्थल निर्माण गरिँदै

तनहुँको सेतीनदी किनारस्थित कमलाघाटमा व्यवस्थित शवदाहस्थल निर्माण कार्य शुरु भएको छ ।

सेती नदीको बहावले वर्षेनी नदी किनार कटान गर्दै लगेपछि दाहसंस्कार गर्न कठिनाई हुने गरेपछि शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा शवदाहस्थल निर्माण कार्य शुरु गरिएको हो ।

शुक्लागण्डकी –४ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठले नगरपालिकाको रु २५ लाख र स्थानीयको रु २७ लाख गरी कूल रु ५२ लाखको लागतमा उक्त शवदाहस्थल निर्माण कार्य अघि बढाइएको जानकारी दिए । सेती नदीमा जाने बाटो नहुँदा शव लैजान असुविधा भएको थियो ।

अहिले दाउराबाट शव जलाउने व्यवस्था गरिए पनि भावी योजना विद्युतीय शवदाह बनाउने रहेको छ । निर्माणाधीन शवदाहको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेकोले अब एक डेढ महीनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिए ।