विद्यार्थी आन्दोलका कारण पोखरा विश्वविद्यालयको परीक्षा स्थगित

विद्यार्थी आन्दोलनका कारण पोखरा विश्वविद्यालयमा आजदेखि हुने परीक्षा स्थगित भएको छ।

व्यवस्थापन संकायमा ‘डी प्लस’ ल्याएका विद्यार्थीको रजिस्ट्रेसन रोक्नुपर्ने माग गर्दै पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यलयमा ताला लगाएर विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा परिक्षा स्थगित भएको हो।

व्यवस्थापन संकायको स्नातकमा ‘डी प्लस’ ल्याएका विद्यार्थीको रजिस्ट्रेसन रोक्न माग गर्दै तीनवटा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। विश्वविद्यालयले आजदेखि चारवटै संकायको परीक्षा तोकेको थियो तर केन्द्रीय कार्यालयमा विद्यार्थीको तालाबन्दीका कारण परीक्षा रोकिएको छ।

उपकुलपति चिरञ्जीवी शर्मा र रजिस्ट्रार गोविन्द शर्मा सम्पर्कमा नआएको विद्यार्थीले गुनासो गरेका छन्। गएको फागुन ३० गते ,चैत १५ हुँदै पछिल्लोपल्ट आजका लागि तोकिएको मितिमा परीक्षा हुन नसकेको हो। विश्वविद्यालयले चालू शैक्षिक सत्रमा तीनपल्ट परीक्षा मिति हेरफेर गरिसकेको छ ।