प्रदेश स्तरिय लगानी सम्मेलन चितवनमा ,केके छन् त छलफलका विषय ?

प्रदेश ३ सरकारको आयोजनामा प्रदेशस्तरीय लगानी सम्मेलन भरतपुरमा शुक्रबार सुरु हुँदैछ।

विभिन्न क्षेत्रमा लगानीको सम्भावना, लगानीको सुरक्षा, चुनौती, कमी कमजोरी, अवसर तथा सुधार गर्नुपर्ने विषयलगायतका विषयमा उद्योगी व्यवसायीहरूसँग छलफल गरी प्रदेशमा लगानीको वातावरण तयार गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको आयोगका सदस्य श्याम बस्नेतले बताए ।

भरतपुर हाकिमचोकस्थित होटल स्टार व्याङ्क्वेटमा हुने सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिउँसो २ बजे गर्ने कार्यक्रम छ।

यस्तै शुक्रबार पहिलो दिन उद्घाटन समारोह पश्चात विषय विषेशज्ञहरूबाट दुईवटा कार्यपत्र पेश हुने र पेश भएका कार्यपत्रमाथि छलफल गरी पृष्टपोषण दिने कार्यतालिका छ। सम्मेलनको दोस्रो तथा अन्तिम दिन पाँच वटा विषय क्षेत्रमा विज्ञहरूले कार्यपत्र पेश गर्ने र त्यसमा छलफल गरी निजी क्षेत्रबाट लगानी सुनिश्चितता गर्ने कार्यक्रम पनि छ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हुने सो सम्मेलनमा पूर्वअर्थमन्त्री डा. रामशरण महत तथा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, सभामुख, उपसभामुख, विभिन्न समितिका सभापति, सांसद, प्रमुख सचिव, मन्त्रालयका सचिवहरु तथा वरिष्ठ अर्थविदहरूको पनि उपस्थिति रहने आयोगले जनाएको छ ।