‘नेपालको पहिचान इम्ब्रोइडरी एण्ड गार्मेन्ट’

नेपालको पहिचानमा धेरैले धेरै कुरा गर्ने गर्दछन् । नेपालको चहिचान सगरमाथा लगायत विभिन्न छन् । धेरै क्षेत्रबाट नेपाललाई चिनाउने गरी काम भएका छन् । पछिल्लो समयमा गार्मेन्टले पनि नेपालको पहिचान दिने गरेको छ ।

विशेषगरी व्यवसायीले गार्मेन्टमा इम्ब्रोइडरी गरेर नेपालको झण्डा लगायत विभिन्न चित्र कोर्दछन् । नेपालको पहिचान झल्कने गरी चित्र कोरिएका ती कपडा विदेशीहरूले मन पराएर खरिद गरेर आफ्नो देशसम्म पुर्याउँछन् । यसरी गार्मेन्टमा इम्ब्रोइडरीमार्फत नेपालको पहिचान विश्वसामू पुर्याउने काम नै सबैभन्दा महत्वपूर्ण र भरपर्दो भएको पोखरास्थित व्यवसायीले दावी गरेका छन् ।

पोखरास्थित गार्मेन्ट तथा एम्ब्रोइडरी व्यवसायीले नेपालको पहिचान विश्वसामू पुर्याउन आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । व्यवसायीहरूले गार्मेन्ट तथा एम्ब्रोइडरी व्यवसायीमाथि राज्यको नजर अझै पर्न नसकेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे ।

‘नेपालको पहिचान विश्वसामू पुर्याउने गार्मेन्ट तथा एम्ब्रोइडरी व्यवसायीलाई राज्यले ध्यान दिएको छैन । यसतर्फ बेलैमा ध्यान जान जरुरी छ’, उनीहरूले पोखरामा आयोजित एक कार्यक्रममा भने । यस व्यवसायमा पनि अस्वस्थ प्रतिस्पर्धाले आफूहरुलाई निकै समस्यामा परेको व्यवसायीको गुनासो छ ।

नयाँ वर्षको अवसरमा नाइस नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष एवं इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसनका सल्लाहकार चीरञ्जीवि पोखरेलले गार्मेन्ट उद्योग पनि पर्यटनसंग सम्बन्धित भएकाले राज्यको ध्यान यसतर्फ जानुपर्ने खाँचो औंल्याए ।

उनले नेपाल पर्यटक भ्रमण वर्ष मनाइरहँदा गार्मेन्ट र इम्ब्रोइडरी व्यवसायी तथा उद्योगलाई अघि बढाउन आवश्यक रहेको स्पष्ट पारे । पोखरा विमानस्थल सञ्चालनमा आएपछि यस उद्योग र व्यवसायले महत्वपूर्ण स्थान पाउने उनले उल्लेख गरे । नाइस नेपालले उद्योग स्थापना गरेर स्वागतयोग्य काम गरेको भन्दै उनले यसमा पर्यटन परिषदको सहयोग रहने प्रतिवद्धता जनाए ।
इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसनका अध्यक्ष शंकर भट्टराईले नाइस नेपाल एगा एउटै भएको भन्दै यसमा सबैलाई समेटेर अघि बढ्ने बताए ।

एगाका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले गार्मेन्ट व्यवसायीले सहकारी स्थापना गर्नुपर्ने र त्यसैमार्फत उद्योग सञ्चालन गर्न आवश्यक रहेको स्पष्ट पारे । उनले नेपालको चिनारी र पहिचान गार्मेन्ट भए पनि यसक्षेत्रमा राज्यको आँखा नपरेको गुनासो गरे । नाइस नेपाल सबैको भावना अनुरुप अघि बढ्नुपर्ने भन्दै उनले प्रतिस्पर्धाको नाउँमा खाटामा व्यापार नगर्न सुझाव दिए । ‘प्रतिस्पर्धा क्यालिटीमा गर्नुस् तर मूल्यमा होइन’, उनले भने, ‘बिना क्वालिटीयुक्त सामग्रीमा पनि अस्वस्थ प्रतिस्पर्धा गरियो भने उद्यो्ग तथा व्यवसाय दुवै धरापमा पर्छ ।’

धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णबहादुर लम्सालले नाइस नेपालको बाटो सही भएको भन्दै यसमा मलजल गर्न आवश्यक रहेको बताए । उनले उद्योगलाई सिस्टममा सञ्चालन गर्न समेत सुझाव दिए ।

नाइस नेपालका अध्यक्ष कमलबहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एगाका निवर्तमान अध्यक्ष पुष्कल थापा, उपाध्यक्ष विश्वराज पोखरेल, सचिव ईन्द्र भण्डारी, नाइस नेपालका सदस्यद्वय ईश्वरकुमार श्रेष्ठ र गोकर्ण लम्सालले संस्थाद्वारा सञ्चालित उद्योगलाई सशक्त ढंगले अघि बढाएर सबै व्यवसायीले उद्योगद्वारा उत्पादित कपडा बेच्ने वातावरण सृजना गर्नुपर्ने खाँचो औंल्याए ।

३ वर्ष अघि स्थापित नाइस नेपालमा ११ जना व्यवसायी आवद्ध छन् । नाइस नेपालले उद्योगमार्फत गार्मेन्ट उत्पादन गरिरहेको सदस्य ईश्वरकुमार श्रेष्ठले जानकारी दिए ।