नेपाल तरुण दल सक्रिय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले माउ पार्टीले सञ्चालन गर्न लागेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्टिय जागरण अभियान’ मा सक्रिय रहन तल्लो तहका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

तरुण दलका महासचि भूपेन्द्र शाहीले विज्ञप्ति जारी गर्दै उक्त जागरण अभियानलाई व्यापक र प्रभावकारी बनाउनु नेपाल तरुण दलको अहम जिम्मेवारी रहेको भन्दै दलका सबै जिल्ला समितिलाई सक्रिय रुपमा सहभागी हुन निर्देशन दिएका हुन् ।

‘अधिनायकवादी कम्युनिष्ट ओली सरकारको जनविरोधी क्रियाकलापविरुद्ध सबै जिल्ला, क्षेत्र, गाउँ, नगर, वडा र टोलसम्म विस्तारित हुने ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ नेपाली काँग्रेसद्धारा घोषणा गरिएको स्मरण गराउँदै उक्त जागरण अभियानलाई व्यापक र प्रभावकारी बनाउनु नेपाल तरुण दलको अहम जिम्मेवारी भएकोले सबै जिल्ला समितिले दलका सबै समितिहरुलाई क्रियाशील गराई सम्पूर्ण तरुणहरुलाई पार्टीको जागरण अभियानमा अग्रपंक्तिमा रहेर सहभागी हुन÷गराउन केन्द्रीय समिति यो परिपत्र मार्फत निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीका जागरण अभियानमा बमोजिमको घोषित कार्यक्रमहरुमा व्यापक रुपले तरुण परिचालन गरी अभियानलाई सफल बनाउन पनि निर्देशन दिइएको छ ।