‘विद्यालयमा डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा

बागलुङको गल्कोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ ।

पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि ल्याईएको विद्यालयले जनाएको छ । सफ्टवेयर’मार्फत् विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक एकापसमा जोडिनेछन् ।

पठनपाठन, आन्तरिक व्यवस्थापन र प्रशासनिक काममा प्रविधिको प्रयोग भएको प्रधानाध्यापक विष्णुप्रसाद गौतमले बताए ।

प्रविधिको मद्दतमा विद्यार्थीको हाजिरी, व्यक्तिगत विवरण, शुल्क, लेखा व्यवस्थापन, अनलाइन गृहकार्य, नतिजा प्रतिवेदनलगायतको व्यवस्थापन हुने उनको भनाइ छ । विद्यालयले उत्पादकसँगबाट रु ५० हजारमा ‘सफ्टवेयर’ खरीद गरेको थियो ।

प्रविधिको प्रयोगले विद्यालयबाट सम्पादन हुने काम छरितो र व्यवस्थित हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाले बताए । कक्षा १० सम्म पढाइ हुने विद्यालयमा कक्षा ११ र १२ सञ्चालनको तयारी समेत अघि बढेको छ ।