हावाहुरीका कारण विद्यार्थी संख्या घटे

हावाहरीको डरले बाराको फेटा गाउँपालिका-६ पुरैनियास्थित मदरसा हुसैनियामा विद्यार्थीको संख्या घट्दै गएका छन् ।

चैत १७ अघि ३५० विद्यार्थी अध्ययनरत रहेका विद्यार्थी घटेर अहिले १ सयको हारहारीमा मात्र नियमित विद्यालय आउने गरेको विद्यालय स्रोतले जनाएको छ । कतिपय अभिभावकले नै हावाहुरी आउने डरले बालबालिकालाई विद्यालय नपठाउने गरेका छन् ।

दिनहुँ आउने हावाहुरी कै डरले कतिपय बालबालिका मदरसा आउन मानिरहेका छैनन् । गाउँमा हावाहुरीले क्षति पुगेका कारण मदरसालाई आर्थिक सहयोग पनि आउन छोडेको छ । जसले गर्दा मदरसामा अध्यापन गराउने शिक्षकहरुको तलब समेत खुवाउन सकेको छैन् ।

मदरसाका प्रधानाध्यापक जफिर आलम हावाहुरी पछि मदरसामा अध्ययन गर्ने बालबालिकाको संख्यामा कमी आएको बताउँछन् । पुरैनिया मुस्लिम बाहुल्य क्षेत्र हो । ११ जनाको ज्यान गएको यो गाउँका अधिकांश बालबालिका मदरसामा पढ्ने गरेका छन् ।

मदरसा हुसैनियामा सामुदायिकतर्फ ५ कक्षा र मदरसा तर्फ ७ कक्षासम्मको अध्ययापन हुन्छ । बिहान ६ बजेदेखि ११ बजेसम्म मदरसामा अहिले पनि पढाइ चलिरहेको छ । मुस्लिम धर्माबलम्बीको चाड परेको बेलामा मात्रै मदरसामा विदा दिने गरिएको छ ।